Wednesday, July 29, 2020

"पैसाको पछाडी होईन सीपको पछाडी लागौँ, पैसा आफैँ आउँछ”

- शम्भु राम
सामाजिक विकास अधिकृत
विगु गाउँपालिका, दोलखा



दैनिक जीवन चलाउन मान्छेलाई धेरै चिजको आवश्यकता पर्छ । ती मध्ये नभई नहुने कुरा हुन्, गाँस, बास र कपास । साधारण जीवन जिउन पनि यी अनिवार्य छन् । नखाई हुँदैन, नसुती हुँदैन, नलाई वा नओढी हुँदैन । भन्दा जति सरल भएपनि यसको जोहो गर्न त्यति सरल भने छैन धेरै नेपालीका लागि । कति मानिसको जीवनमा यी ३ कुरा जुटाउन पनि हम्मे हम्मे पर्छ । आर्थिक दुरावस्था भएका धेरै नेपाली छन् जसले यी अत्यावश्यक कुराको जोहो गर्नमै जीवन सकाउँछन् । तर कर्मशील मानिसहरु ती ३ आधारभूत कुरा पुरा गरेर अरु आवश्यकता पनि पुरा मात्रै गर्दैनन्, समाजलाई उदाहरण पनि पस्कन्छन् ।
त्यस्तै हुन् ४८ बर्षीय डम्बर माया थामी । दोलखा जिल्लाको विगु गाउँपालिका वडा नं ६ आलम्पुकी एक साधारण महिला जसको ४ जनाको परिवार छ । श्रीमान् विगु गाउँपालिको वडा नं. ६ आलम्पुको सहायक सचिब पदमा स्थायी रुपमा कार्यरत छन् । तर सामान्य जागीरको भरमा चार जनाको परिवार पाल्न कति नै सम्भव हुन्छ र ? त्यसकारण गाउँघरमै खेतीकिसानीका अलावा ढुङगा खानीमा काम गर्थिन् डम्बर मायाले । हातमा अरु सीप थिएन । उनलाई सधैँ लाग्ने गथ्र्यो मान्छेको जीवनमा सीप नभई नहुुने कुरा हुन् । किन कि उनलाई थाहा थियो, सीप भयो भने पैसाको पछाडी दौडनै पर्दैन, पैसा आफैँ आउँछ । त्यसैले आफूले गर्न सक्ने कुनै किसिमको कामबारे सिक्न पाए जीवन यापन गर्नको लागि केहि सहज हुन्थ्यो कि भन्ने कुरा उनको मनमा खेलिरहेको हुन्थ्यो ।

डकर्मी तालिमले पुरा गर्यो इच्छा

२०७२ वैशाख १२ गतेको महाविनाशकारी भुकम्पले विगु गाउँपालिका ६ नं. वडा आलम्पुलाई तहसनहस पार्यो । ६०० बढी घरहरु पुरै ध्वस्त भए । ढलेका घरहरु उठाउन पर्ने त थियो नै, तर पहिले जस्तो गरी नै घर बन्दा आउने भूकम्पमा फेरि उही नियति दोहोरिने सम्भावना उत्तिकै हुन्थ्यो । पुनर्निमाणमा सहयोग गर्नको लागि भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) द्वारा बलियो घर कार्यक्रम संचालन भयो । आफ्नो गाउँमा बलियो घर कार्यक्रम संचालन भएको र कार्यक्रमले डकर्मी तालिम लगायतका क्षमता अभिवृद्धिका कार्यक्रमहरु गर्ने थामीले आफ्नै वडा कार्यालय मार्फत थाहा पाइन । थामीलाई सीप आर्जन गर्न थियो । आफ्नो ठूलो र दृढ ईच्छालाई साकार बनाउन उनी कार्यक्रमबाट संचालन भईरहेको अभिमुखिकरण कार्यक्रममा पनि सहभागी भईन् । जहाँ उनले गाउँमा सात दिने डकर्मी तालिम हुने जानकारी पनि प्राप्त गरिन् । उनले खोजेझैँ भयो । डकर्मी तालिम कार्याक्रममा सहभागी हुनको लागि उनले नाम दर्ता गराइहालिन् । नाम दर्ता गराउँदै गर्दा उनले भनेकी थिइन्, “म घर बनाउने काममा सहभागी त भइरहेकी छु तर पानी बोक्ने, माटो बोक्ने लगायतका काम मात्रै गर्छु, हातमा सीप केही छैन । सीप सिक्न त रहर छ तर पढाई पनि  छैन म जस्तो अनपढले तालिम लिन मिल्छ ? मैले सिक्न सक्छु ?”
सीप आर्जन गर्ने र सीपलाई गाउँको पुनर्निर्माणमा उपयोग गर्ने हुटहुटीका बीच थामी डकर्मी तालिममा सहभागी भइन् । घर बनाउने कार्यमा सहयोगीको रुपमा मात्रै काम गरेकी उनमा गारो लगाउने लगायतका कामहरु नसिकि नछोड्ने प्रतिबद्धता पनि थियो । सायद त्यही प्रतिबद्धताले गर्दा होला तालिम अवधि भर डम्बर मायाले बलियो घर अथवा भुकम्प थेग्ने घर निर्माणबारे सबै तरिका (सैद्धान्तिक र प्रयोगात्मक) बडो ध्यान दिएर सिकिन् । कस्तो ठाउँमा घर बनाउन हुन्छ ? घरको आकारप्रकार कस्तो हुनुपर्छ ? हाते ढुङ्गाहरु कसरी प्रयोग गर्ने ? कति कति फिटमा ब्याण्ड राख्ने, झ्याल ढोकाको आकारप्रकार कस्तो हुनुपर्छ ? गारो कसरी मिलाउने ? लगायतका विषयमा  सात दिनसम्म थामीले ध्यान दिएर सिकिन् ।


सीप मात्र होईन आर्थिक अवस्थामा पनि सुधार भयो
तालिम पश्चात् थामी भन्छिन्, “तालिमको विषयवस्तु २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत व्यवहारिक रुपमा सिकाउने प्रकृया भएको हुनाले राम्ररी सिक्ने मौका पाएँ । तालिमपछि भुकम्प थेग्ने घर निर्माणको लागि काम गर्न थालेँ, का मयति धेरै भयो कि मलाई समय मिलाउन हम्मे हम्मे पर्यो ।” उनी सुनाउँछिन्, “म पहिला लेबर (सहयोगी) को रुपमा काम गर्दा दिनको तीन सयमा काम गर्नु पथ्र्यो । तर तालिम पश्चात् मिस्त्रीको रुपमा काम गर्दा एक दिनको ज्याला एक हजारको दरले काम गरेँ । अहिले सम्म जम्मा ३५ ओट घर बनाउन सफल भएको छु । आर्थिक हिसाबले परिवारमा ठुलो सहयोग भएको छ । घर निर्माणसम्बन्धी लगभग सबै काम आउँछ । गारो लगाउन, बन्धनहरु मिलाउन र कस्न, डण्डीहरुको काम गर्न पनि आउँछ । भूकम्प प्रतिरोधी घर भनेको पहिले पहिले के हो के हो जस्तो लाग्थ्यो । तालिमपछि सबै कुरा थाहा भयो । अहिले हाम्रो आलम्पु त साँच्चिकै भूकम्प प्रतिरोधी गाउँ भएको छ । जुन दिन देखि म तालिमप्राप्त मिस्त्रीको रुपमा घर पुनर्निर्माणमा संलग्न हुन थालेँ, आर्थिक हिसाबले पनि ठूलो टेवा मिलेको छ । घरको एक जनाको आम्दनीबाट पारिवारिक खर्च धान्न मुस्किल नै थियो तर अहिले छोरा छोरीको शिक्षामा समेत मेरो आम्दनीबाट सहयोग भएको छ । अलि अलि बचत गरी ऋण समेत तिरेको छु ।”
थामीको कथा यत्तिमै सिमित छैन । आर्थिक अवस्था कमजोर हँुदा गाउँ समाजको मान्छेप्रतिको दृष्टिकोण पनि फरक हुने रहेको उनले थाहा पाइन् । र अलिकति कमाउने हुँदाको दृष्टिकोण कति फरक !! उनलाई सम्झना छ, पहिले उनलाई रकम सापटी पनि दिन गाह्रो मान्थे गाउँघरका मान्छेहरु, तर अहिले ऋण सापटी लिन गाह्रै छैन । किनकी म सँग ऋण सापटी फिर्ता गर्ने क्षमता छ । यति मात्र कहाँ हो र ? समाजमा आदर सत्कार पाउने कुरामा पनि फरक हुँदोरहेछ । समाजमा सबैले बोलाउने तरिका पनि फरक हुँदो रहेछ । गाउँको पुनर्निमार्णमा खटेको र इमान्दारिता पूर्वक काम गरेको देखेर हुनुपर्छ सायद अन्य गाउँका घरधनीहरुले पनि उनलाई नै सम्झन्छन् । र उनी कसैलाई नाई भन्दिनन् बरु समय मिलाएर खबर गर्छु है भन्छिन् ।

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...