Monday, May 14, 2018

"कार्यगत तालिमले मेरो जीवनस्तरमा सुधार गरेको छ"

लाल वहादुर तामाङ
कार्यगत तालिमबाट तालिमप्राप्त डकर्मी
"भीमेश्वर नगरपालिका साविक वडा नं. १३, गग्रेनी स्थायी ठेगाना हो मेरो । भनिन्छ, मानिसले आँट गर्यो र इच्छालाई संकल्पमा परिणत गर्यो र सोही अनुसार व्यवहार परिवर्तन गर्यो भने असम्भवलाई पनि सम्भव बनाउन सकिँदो रहेछ । मेरो जीवनमा पनि त्यस्तै भयो । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले घर मात्रै होइन, मेरो मन पनि भत्काएको थियो । आफू वसोवास गर्दै आईरहेको घर क्षत विक्षत भएको देख्दा कसको मन भक्कानिन्न होला र ? भूकम्पपछि स्थायी टहरा निर्माण गरेर बस्दै आएको थिएँ । विगत केही बर्षदेखि म पेन्टिङ काममा संलग्न छु । ६ जनाको परिवार पाल्नका लागि पेन्टिङ पेशाले धौ धौ पर्छ । पेन्टिङ काम वाट आउने थोरै पारिश्रमिक र कृषि उपज विक्री गरी जिविको पार्जन गर्दै आइरहेको थिएँ ।
यत्तिकैमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) द्धारा संचालित बलियो घर कार्यक्रम अन्र्तगतको ५० दिने कार्यगत तालिमको बारेमा वडा नम्बर ७ को कार्यालयमा सुनेँ र सीप सिके केही होला कि भनेर तालिममा सहभागी हुने इच्छा व्यक्त गरेँ । पछि २०७४ फागुन २२ गतेदेखि मेरै गाउँकी ८० बर्षीय एकल महिला सेती तामाङको घर निर्माण गर्ने गरी तालिम सुरु भयो । तालिममा सहभागी हुँदै गर्दा भूकम्पीय सुरक्षा, भूकम्प प्रतिरोधी घरको विषयमा केही जानकारी थिएन तर अहिले म निर्धक्कका साथ भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सक्ने गरी आफूलाई विकास गरेको छु ।
५० दिने कार्यगत तालिममा मैले सिकेका कुराहरु
१. भूकम्प आउनुका कारण, त्यसका असर र जोखिम न्यूनीकरणका उपायहरु सम्बन्धी जानकारी
२. सुरक्षित पुनर्निर्माणका सम्बन्धमा प्रकृयागत विषय, प्राविधिक सहयोगका विषय, सुरक्षित समुदायको अवधारणा लगायत महत्वपुर्ण कुराहरुको जानकारी
माटो परीक्षण, घडेरी छनौट, घरको नियमित आकार प्रकार सम्बन्धी जानकारी
३. झ्याल, ढोकाको नाप, जग वन्धन, ठाडो प्रवलीकरण, डि.पि.सि. वन्धन, कुना वन्धन, सिमेन्ट, गिट्टी, बालुवाको सहि अनुपात तथा भवन निर्माण संहिता सम्बन्धी जानकारी
४. एउटा घर निर्माण गर्न चाहिने सम्पूर्ण विषयको जानकारी

तालिमले मेरो जीवनमा ल्याएको परिवर्तन
१. ५० दिने कार्यगत तालिमले मलाई योग्य, सक्षम र दक्ष निर्माणकर्मी वनाएको छ । साथै मैले आफ्नो जिविकोपार्जन गर्न धौं धौं परिरहेको परिवेशमा तालिम पश्चात् सक्षम डकर्मी भएर स्थानीय स्तरमा काम गरिरहेको छु । प्रतिदिन रु १००० को दरले पारिश्रमिक पाईरहेको छु जस्ले गर्दा हालका दिनमा परिवारको दैनिक खर्चका साथै अन्य खर्च व्यवस्थापन गर्न सहज भएको छ ।
२. यसका अतिरक्त घर वनाउन चाहने घरधनीहरुले आफुलाई आएर घर वनाईदिनु पर्यो, कस्तो घर वनाउँदा भूकम्पबाट सुरक्षित हुन्छ लाल वहादुर दाई भनेर सोध्दा आफु वास्तवमै एउटा सबल डकर्मी भएको रहेछु भनेर खुसी लागेर आउँछ ।
३. हातमा सीप आएको छ । काम गर्ने जोश छ, जोशलाई उपयोग गर्ने हो भन्ने भावना पलाएको छ ।
४. अन्तमा म भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) द्धारा संचालित बलियो घर कार्यक्रमलाई म जस्तो भवन निर्माणको सवालमा केही कुरा जानकारी नभएको व्यक्तिलाई भवन निर्माण संहिताको ज्ञान तथा भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सक्ने दक्ष डकर्मी वनाईदिएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।"



तयार पार्ने : ईश्वर दत्त जोशी
सामाजिक विकास अधिकृत
भीमेश्वर नगरपालिका, बलियो घर

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...