Monday, July 16, 2018

ऐतिहासिक बस्ती द्धाल्खाको पुनर्निर्माण हुँदै

सानुमैया श्रेष्ठ
सामाजिक विकास अधिकृत, भिमेश्वर दोलखा

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका अन्तरगत पर्ने वडा नं २, ३ र ४ को ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले महत्वपूर्ण मानिएको शहर दोलखा (जसलाई द्धाल्खा भनेर पनि चिनिन्छ) मुख्यतः नेवारी समुदायको बसोबास रहेको छ । आफ्नो मौलिकता बोकेको यस ऐतिहासिक शहरमा ऐतिहासिक तथा धार्मिक जात्रा पर्वहरु परापूर्व कालदेखि संचालन हुदै आएका छन् । तत्कालीन समयमा मल्लकालीन राजाले राज्य गरेको भनिएको यस शहरमा व्यवस्थित रुपमा चोक, मठ मन्दिर र देवालय पनि रहेको छ । यस शहर भित्रका प्रायः सम्पुर्ण घरहरु ढुङ्गा माटोले बनेको र केही घरहरु ईँटाले बनेका थिए । यस ऐतिहासिक शहरलाई २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले कुरुप मात्र बनाएन यहाँका बासिन्दालाई जस्तापाताको चिसो कटेरामा बस्न बाध्य बनायो ।
अर्बन रिजेनेरेसन योजना अन्तर्गत यस बस्तीको पुरातात्विक तथा साँस्कृतिक मौलिकता कायम गर्दै पुनर्निर्माण गर्ने योजना बनेपनि कार्यान्वयनमा ढिला भइरहेको छ । यस बस्तिमा पुनर्निर्माण गर्न नगरपलिकाको उचित मापदण्ड कुर्दा कुर्दै २ वर्ष वितेको यहाँका वासिन्दालाई पत्तै भएन । बस्ती भित्रका अधिकांश घरहरु बहुस्वामित्वका रहेका छन् । बहुस्वामित्वको भएको कारणले गर्दा घर बनाउने जग्गा अभावले पनि सरकारले निकालेको समय सिमाभित्रमा भूकम्प प्रभावितले घर बनाउन असमर्थ भएका छन् । यस बस्ती भित्र नगरपालिकाले तोकेको बाटोको नाप, घरको डिजाइनमा अस्पस्ट र चित्त नबुझेको कारणले गर्दा नै पुननिर्माणको काममा ढिलाई भएको हो । एकल स्वामित्व भएकाहरुको पनि बजार क्षेत्र भित्र निर्माण सामाग्री राख्ने ठाउँको अभावका कारण, घर बनाउने डकर्मीको अभावले गर्दा र पानीको कमीले गर्दा निर्माण कार्य हुन ढिलाई भएको यहाँका स्थानीयहरु बताउने गर्छन ।
यस्तो समस्याको बाबजुत पनि यहाँका केहि एकल स्वामित्व भएका भुकम्प पिडित घर धनीहरुले यस बर्षको चैत महिना देखि घर निर्माण कार्य शुरु गरेका छन् । ऐतिहासिक बस्ती भित्रको दुङ्गल टोलबाट पुननिर्माणको कामको शुरुवात भएको छ । यस बस्तीमा करिव १०० घरधूरीको बसोवास रहेको छ । यस बस्तीमा पिल्लरवाला घर १० वटा, ईटाको घर ६ वटा, ढुङ्गा माटोको घर ५ वटा र ढुुङ्गा सिमेन्टको १ वटा गरी जम्मा २२ वटा घर निर्माण हुँदै छ । यस्तै निर्माणकार्यको शुरुवात भएको बस्ती मध्ये गणेश टोल पनि हो । यस टोलमा ईटाको घर १३ वटा, ढुङ्गा माटोको घर ३ वटा र पिल्लरवाला २ वटा गरी जम्मा १८ वटा घर निर्माण हुँदै छ । अन्य बस्ती चाम्सली हापिचामा पिल्लरवाला ४ वटा ईटाको, ४ वटा र ढुङ्गा सिमेन्ट १ वटा गरी जम्मा १० वटा घर निर्माण हुँदै छ । यस्तै गरी अन्य विभिन्न बस्तीहरुमा पिल्लरवाला १३ वटा, इटाको ६ वटा र ढुङ्गा माटोको घर बनिरहेका छन् ।
यस बस्तीमा बनेका सम्पुर्ण घरहरुमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल – बलियो घरबाट पुर्ण रुपमा प्राविधिक सहयोग पाएको छ । यस बस्तीका प्रायः सबै टोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम स्कुल, आमा समुह, सरसफाई समुह लगायतलाई प्रदान गरिएको थियो । साथै बस्तीको मुख्यमुख्य चोकमा भुकम्पीय जोखिम न्यूनीकरण तथा सुरक्षित पुनर्निर्माण सम्बन्धी चलचित्र पनि प्रदर्शन गरिएको थियो, जसबाट यहाँका समुदाय निकै उत्साहित देखिन्थे । यसको प्रभाव बाट यस बस्तीमा निर्माणाधिन सम्पुर्ण घरहरु भकम्पप्रतिरोधी बनेका छन् ।
घर बनाउने क्रममा मिस्त्रीले गरेको काममा कतै त्रुटी भएको छ कि भन्दै बलियो घरको प्राविधिकलाई तुरुन्त सम्पर्र्क गर्ने गर्छन् यहाँका स्थानीयबासीहरु । यसले गर्दा घर पुर्णरुपले भुकम्प प्रतिरोधी बनिरहेका छन् । यस बस्तीमा प्रायः बाहिरी जिल्ला लगायत छिमेकी राष्ट्र भारतदेखि आएका कामदारहरु घर बनाउने कार्यमा सम्लग्न रहेका छन् । यस्तो अवस्थामा प्राविधिक साहयता दिनको लागि भाषागत् समस्या नआएको होइन तर यसको बाबजुत पनि बलियो घर कार्यक्रमका प्राविधिक टोलीले त्यही समुहलाई लक्षित गरेर उनीहरुकै भाषामा प्राविधिक साहयता र अभिमूखिकरण कार्य पनि गरेको थियो । यसले गर्दा घरधनी लगायत बाहिरका कामदार समेतलाई फाईदा पुगेको छ ।


No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...