Thursday, February 28, 2019

“कान काटेर पातमा राख्छु” भन्नेहरु नतमस्तक भएपछि ...

गणेश प्रसाद आचार्य
इन्जिनियर, बलियो घर, धादिङ


उत्तरमा मुस्कुराइरहन्छ गणेश हिमाल । त्यहि हिमालको काखमा मगमगाउँछ सेमजोङ । उत्तरी धादिङको तामाङ बाहुल्य गाँउ, पहिले सिंगो गाविस अनि अहिले नेत्रावती गाउँपालिकाको एउटा वडा हो सेमजोङ । लाहुरे हुनै पर्ने परम्परा नै बनेको यो ठाउँका अधिकांश युवाहरु भारतीय सेनामा कार्यरत छन् । गाउँमा भेटिने अधिकांश वृद्धहरु पनि पेन्सनवाला भेटिन्छन् । महिला र केटाकेटी मात्र भेटिने यो सुन्दर बस्ती गोरखा भुकम्पले ध्वस्त गरेपछि टहरा बस्तीमा परिणत भयो । तुलनात्मक रुपमा आर्थिक अवस्था राम्रो भएपनि पुनर्निर्माणको लागि गाउँमा जनशक्तिको अभाव थियो । त्यसमाथी डकर्मी पेशा पुरुषको मात्र हो भन्ने सोँचाई भएको यो ठाउँमा काम गर्ने पुरुष नै कम थिए । त्यसैले केही ढिला गरी सुरु भयो यहाँको पुनर्निर्माण र विस्तारै हिँड्यो । तर अहिले अवस्था फेरिसकेको छ ।

पानीपधेँरो, दैलोपोतो र भान्छामा सिमित महिलाहरु दिनमा फुर्सदिला थिए । घरायसी काम बाहेक अन्य कामको बारेमा सोँच्नै भ्याएका थिएनन् यहाँका युवति तथा महिलाहरुले । कमाउने पुरुष मात्रै होलान् भन्ने सोँचले घर गरिरहेको यहि गाउँमा बस्छिन् सनिता तामाङ । भूकम्पले थिलोथिलो भएको गाउँसमाज अनि फुर्सदिला महिलाहरु देखेर सनिता तामाङको मन भारी भएको थियो । उत्सुक र निडर भएर होला सनिता कहिलेकाँही पुरुष डकर्मीहरुले काम गरिरहेको गाउँमा सहयोग पनि गर्थिन् । पानी ओसार्ने, ढुंगा बोक्ने, माटो बोक्ने अनि सहायकको जस्तो काम गर्दै जाँदा सनिताले घर निर्माणबारे धेरथोर जानकारी लिएकी थिइन् । गोरखा भूकम्पपछिको लामो समय त्यत्तिकै व्यतित भयो उनको तर उनमा के गरौँ कसो गरौँ भन्ने हुटहुटी चाँही हुन्थ्यो । ‘गाउँमा पुरुषहरु कम भएर के भो त, हामी दिदिबहिनी मिलेर पनि घर बनाउन सक्छौँ नि !’ उनी भन्थिन् । भूकम्पपछि सरकारी मापदण्ड अनुसार घर बनाउनुपर्ने र अनुदान लिनका लागि अनिवार्य मापदण्डमै रहेर घर बनाउनुपर्ने अवस्थामा उनी अलमलमा परेकी थिइन् । घर निर्माणबारे सतही जानकारी र सीप भएपनि भूकम्प प्रतिरोधी निर्माण पद्दतिबारे उनी बेखबर थिइन् । त्यहि बेला उनलाई एउटा मार्ग भेटियो । भूकम्प प्रविधि राष्ट्रिय समाज अन्तर्गत सञ्चालित बलियो घर कार्यक्रमले डकर्मी तालिम दिने भएपछि उनी खुशी हुँदै तालिममा सहभागी हुन आइन् । ग्रामीण डकर्मीहरुका लागि लक्षित ७ दिने डकर्मी तालिममा सहभागी सनिता एक अब्बल डकर्मी भएर निस्किन् । सेमजोङका महिलाहरुको बीचमा उनी नमुना पात्र बनेर काम गर्न सुरु गरिन् ।
सनिता तामाङ (कालो ज्याकेट) र उनका डकर्मी साथीहरू
उनलाई सम्झना छ, महिलाहरुले घर बनाए आफ्नो कान काटेर पातमा राखिदिन्छु भन्ने पुरुषहरु अहिले पनि गाउँमै छन् ।  उनीहरुको अगाडी महिलाहरु समेत सक्षम डकर्मी बन्न सक्छन्, उनीहरु पनि पुरुषसरह घर बनाउन सक्छन् भन्ने कुरा प्रमाणित गर्न आतुर सनितालाई डकर्मी तालिमले सहयोग गर्यो । र उनले त्यो पुष्टि गरेरै छाडिन् ।
सनिता तामाङ
भुकम्पले घर मात्र भत्काएन सेमजोङमा एउटा बालिकाको सिंगो परिवार खोसेर लग्यो । १६ बर्षको कलिलो उमेरमा टुहुरी बनेकी सोनिया तामाङ पनि उनै सनिताको वडाबासी हुन् । सोनिया एक्ली बनेकी थिइन् र टहरामा जिन्दगी गुजार्न सुरु गरेकी थिइन् । भूकम्पपछि उनको एउटै सपना थियो, ‘एउटा घर बनोस्, त्यही घरमा आनन्दले चिसो र गर्मी छल्न सकुँ ।’ उनै सोनियाको सपना साकार पार्ने जिम्मा आइलाग्यो डकर्मी सनितालाई । उनको आँट र प्रतिवद्धताले भत्किएको घर पुनर्निर्माण गर्ने सोनियाको सपना साकार भयो । वडा भेलाबाट सनिता तामाङ नाईके डकर्मीको रुपमा छनौट भईन् । उनीसँगै ६ जना महिलाहरु सिकारु डकर्मीको रुपमा छानिए अनि सोनियाको घर निर्माण कार्य आरम्भ भयो । बलियो घर कार्यक्रमको ५० दिने कार्यगत डकर्मी तालिम योजना अनुसार उनको घर निर्माण आरम्भ गरिएको थियो । ५० दिने कार्यगत तालिमले एउटा नमुना घर निर्माणसँगै ६ जना नयाँ महिला डकर्मी उत्पादन गर्यो । उनीहरुको सीप तथा दक्षता अभिवृद्धि गर्ने काम गर्यो र अहिले उनीहरु घर पुनर्निर्माणको कार्यमा खटिरहेका छन् ।


पुनर्निर्माण नहुँदैको टहरामा परिणत सेमजोङ
पुस माघको जाडोमा एकाबिहानै हातमा घण्टी, धागो बोकेर बलियो घर निर्माण गर्ने तरिका आफ्ना गाउँका दिदिबहिनीलाई सिकाउँदा कम्ता खुसी मिलेन सनितालाई । उनी खुशीले गद्गद् भईन् । गॉउका पुरुषहरु उनले अरु महिलालाई सिकाएको हेर्न लर्को लागेर आउँदा उनी झन् उत्साहित हुन्थिन् । एनसेट बलियो घर कार्यक्रमको प्राबिधिक सहयोगमा उनै सनिता तामाङ र उनको टोलीको अथक प्रयासले ५० दिनमा सोनिया तामाङको घर निर्माण सम्पन्न भयो अब फेरि भुईँचालो आउँदा नढल्ने गरी । त्यहाँ सोनिया तामाङको घर मात्र बनेन, ५० दिने कार्यगत तालिमको दौरान महिलाहरुप्रति हेर्ने नजर बदलियो । ६ जना नयाँ डकर्मी उत्पादन भए र उनीहरुले अहिले गाउँको पुनर्निर्माणमा योगदान पुर्याइरहेका छन् । सनिताको निरन्तर खटाई र महिलाहरुलाई पुरुषसरह काम गर्न दिने ढाडस र नेतृत्वकलाले आज समाजमा महिलाप्रतिको दृष्टिकोण नै परिवर्तन भएको छ । साँच्ची भन्नुपर्दा उनलाई देख्दा गाउँमा पुरुष डकर्मी नतमस्तक हुन्छन् ।

पुनर्निर्मित सेमजोङ बस्ती

सनिता तामाङ भन्छिन “नसकिने केही छैन, तर आँट भने अवश्य चाहिन्छ । नेपालको पुननिर्माणमा महिला सहभागिता बढाउन सके पुनर्निर्माणले गति लिनुका साथै महिलालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन्थ्यो ।” उनी भन्छिन् “सकिन्छ, मज्जाले सकिन्छ नगरुन्जेल गाह्रो लाग्छ हात हालिसकेपछि नसक्ने कुरा केही पनि हुँदैन ।” सनिता तामाङ अहिले पनि साथीहरुसँग मिलेर पुनर्निर्माणमा अहोरात्र खटिएकी छन् । थुप्रै भुकम्प पीडित गाउँलेहरुलाई छाप्रोबाट भूकम्प प्रतिरोधी बलियो घरको छाना मुनी ल्याउन उनी सफल भएकी छिन् ।

                                                                                                   

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...