Thursday, June 20, 2019

मापदण्ड अनुसार नभएको घर भत्काउने मुडमा पुगेका राजकुमारलाई प्रबलीकरणको राहत

सबिता वस्ती
सामाजिक विकास अधिकृत
बलियो घर कार्यक्रम, कागेश्वरी मनहरा

जिन्दगीको रथ आफ्नै रफ्तारमा थियो । कृषि पेशाले जीवन रुपी रथको पाङ्ग्रा घुमाउँदै यात्रा अघि बढेकै थियो, परिवार धानेकै थियो । छोरा, छोरी अनि श्रीमतिसहितको घर, सानो तर भव्य संसार थियो । हाँसिखुशी हिँडिरहेको उनको जीवनमा प्रकृतिले ब्रेक लगाइदियो । प्रकृतिको अवरोधले गति रोकिने उनी एक्ला यात्री अवश्य थिएनन् । झण्डै ८ लाख परिवारको त्यस्तै हविगती थियो । “२०७२ सालको भुइँचालोले भएको एउटा घर भत्काइदियो, एक दुई हप्ता त्रिपाल मुनी बास बस्यौँ । त्यसरी बस्दा कति गाह्रो हुँदो रहेछ तपाई महशुस गर्न सक्नुहुन्न । टहराको बासले जिन्दगी चलाउन गाह्रो हुन थालिसकेको थियो । त्यो बेला पुनर्निर्माणको काम सुरु भएकै थिएन, प्राविधिक सहयोग हाम्रो दैलोमा आइपुगेको थिएन,” काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदी, थापा गाँऊका ४४ बर्षीय राजकुमार थापाले कुराको सुरुवात यसरी गरे ।


सरकारी प्रयासमा पुनर्निर्माणको कार्य आरम्भ नहुँदै घरको आवश्यकता पुर्ति गर्न थापाले आफ्नै सुरमा घर निर्माण सुरु गरे । घर बनाएको साढे १ वर्ष पछि बल्ल अनुदान सम्झौता भयो । उनको परिवार पुर्ण क्षतिको लाभग्राहीमा परेकै थियो । पहिलो किस्ता त विना कुनै झण्झट पाउने कुरा भइहाल्यो । तर दोस्रो किस्ताको लागि सिफारिस लिन जाँदा आफ्नो घर मापदण्ड अनुसार नरहेको र थप रकम नपाउने भनी नगरपालिकाको इन्जिनियरले सुनाएपछि उनी निरास हुदै घर फर्किए ।

त्यसपछी मुलुकमा स्थानीय तहको चुनाव भयो । स्थानीय सरकार आए लगतै थप किस्ता पाइन्छ कि भन्ने आशमा उनी फेरि दोस्रो किस्ताको लागि निवेदन दिन वडा कार्यलय गए । तर विधि प्रकृया अनुसार पाउने कुरा भनसुन वा अन्य प्रकृयाबाट पाउने गुञ्जायसै थिएन । पुनर्निर्माणका लागि खटिएका इन्जिनियरले पुनः उही कुरा दोहोर्याए, घर मापदण्ड अनुसार बनेकै छैन । हुन पनि हो, कसैको जानकारी विना, इन्जिनियरको परामर्श विना, भूकम्प प्रतिरोधी तत्वहरु नराखिकन, तालिमप्राप्त मिस्त्रीको प्रयोग नगरीकन कसरी बनोस् भूकम्प प्रतिरोधी घर ?
अब सरकारी अनुदान नपाइने नै रहेछ भन्ने निश्कर्षमा पुगेका थापा निरुत्साहित हुँदै घर नै भत्काउने सोँचमा पुगेका थिए । तर आफ्नो आर्थिक स्थिति राम्रो नभएकोले घर भत्काएर कहाँ बस्ने भन्ने पिरलो त छँदै थियो । घर भत्काउनु भन्दा केही विकल्प पो छन् कि ? एक चोटी वडामा गएर बुझ्ने चेष्टा गरे उनले । त्यहाँका इन्जिनियरहरुले प्रबलीकरणको बारेमा केही जानकारी दिए । त्यस्तो घर रेट्रोफिट अर्थात प्रबलीकरण गरेर बलियो बनाउन सकिन्छ र नपाइएको अनुदान पनि पाइन सक्छ भन्ने जानकारी मात्र होइन, यस सम्बन्धमा थप बुझ्न र सहयोग माग्नका लागि एनसेट–बलियो घर कार्यक्रमसँग सम्पर्क गर्न इन्जिनियरले सुझाए । राजकुमार भन्छन् “प्रबलीकरण शब्द सुनेको र गरेको पनि देखेको थिए, तर प्रबलीकरण गर्न धेरै पैसा लाग्छ र आर्थिक स्थितिले भ्याउदैन भन्ने बुझाइ थियो मेरो, तर एनसेट–बलियो घर कार्यक्रमका सर म्याडमहरुले कम खर्चमा प्रबलीकरण गर्न सक्ने बताउनुभयो । यति मात्र होइन, उहाँहरुको २५ दिने तालिमको रुपमा मेरो घर प्रबलीकरण गर्न सकिने कुरा थाहा पाएपछि खुसीको सीमा नै रहेन ।”


विभिन्न चरणमा छलफल गरेपछि राजकुमारको घरमा एनसेट - बलियो घर कार्यक्रम अन्तर्गत २५ दिने प्रबलीकरणको तालिम सुरु भयो । स्प्लिन्ट एण्ड व्याण्डेज विधिबाट उनको घर प्रबलीकरण भयो । आफ्नो घरको जगसम्म खनेर, ठाँऊ ठाँऊमा डण्डी र जाली राखी बाँधेर घरलाई एकढिक्का बनाएका देखेपछि उनमा सन्तोष पलायो । अब भुईंचालो आउँंदा घर भत्किदैँन भन्ने कुरामा निश्चिन्त भएका उनी फेरि वडा कार्यालय गए ।  “आफ्नो घर प्रबलीकरण गरेपछि दोस्रो र तेस्रो किस्ताको लागि निवेदन दिन वडा कार्यालय गएको थिएँ, वडाका इन्जिनियरहरु र वडा अध्यक्ष मुकुन्द गजुरेलले मेरो घर पहिलेको भन्दा निकै नै राम्रो देखिएको र बलियो भएको साथै गाउँमा एउटा नमुनाको रुपमा प्रस्तुत भएको भनी प्रशंसा गर्नुभयो । हर्षले म त गदगद् भएँ,” उनले खुशी साटे । वडामा मात्र नभएर गाऊँघर तिर पनि सबैले उनको प्रशंसा गर्छन् ।

राजकुमारले देखेका छन्, उनकै गाउँमा भूकम्पले चर्काएका घर धेरै छन् । कतिपय घरहरु त टालटुल पारेर राखिएको छ । तर अब उनलाई थाहा भएको छ, चर्काएका घर कुनै बेला भूकम्प आइहाल्यो भने भत्कन सक्छन् र जनधनको क्षति हुन सक्छ । केही टालटुल पारेका घर पनि छन् । उनलाई थाहा छ, टालेको चिज राम्रोसँग बस्दैन, फेरि क्षतिको स्तर पनि त हेर्नुपर्यो । त्यस्तो घरलाई प्रबलीकरण नै गर्नुृपर्छ । उनी अहिले यहि सुझाव दिन्छन् चिनेजानेका मानिसहरुलाई, प्रबलीकरण गरेको आफ्नो घर हेर्न आउने जो कोहीलाई । आफ्नो घर भुकम्प प्रतिरोधी बनाइदिन सहयोग गरिदिएकोमा एनसेट बलियो घर कार्यक्रमप्रति अनुग्रहित छु भन्न चाँहि उनी छुटाउँदैनन् ।

प्रबलीकृत घरमा बलियो घर टिमसँग कुराकानी गर्दै घरधनी राजकुमार थापा


No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...