Thursday, July 18, 2019

‘पुनर्निर्माणको पूर्ण लाभग्राहीबाट प्रबलीकरण लाभग्राही बनें, अनि बनाएँ मजबुत र सुरक्षित घर !’

लक्ष्मी बानियाँ
जनसम्पर्क अधिकृत
बलियो घर कार्यक्रम, नुवाकोट 
२०७२ साल बैशाख १२ गते गएको गोरखा भूकम्पले जताततै त्रासदीपुर्ण अवस्था सिर्जना गर्यो । गोरखा भूकम्पले उनी बस्दै आएको ढुंगामाटोको घर हल्लाइदियो र अलिअलि चर्काइदियो । भूकम्पले घर भन्दा बढी उनको मन हल्लाइदियो । छिमेकका घरहरु भत्किए, उनको घर धन्न जोगियो । २०३२ सालमा एउटा घर जोडेका थिए उनले अर्थात नुवाकोट ककनी गाउँपालिका वडा नं ८ थानसिंहका ४८ बर्षीय मणिलाल श्रेष्ठले । मणिलालको मूख्य सम्पत्तिको रुपमा त्यो घर ४ जनाको परिवारको टाउको लुकाउने आश्रयस्थल त थियो नै भारी विसाउने चौतारी पनि थियो ।
घर त्यो हो जहाँ मन बसेको हुन्छ, घर त्यो हो जहाँको इँटाइँटाको माया हुन्छ, काठ काठको माया हुनछ । तर बैशाख १२ को भुईँचालो पछि भने उनी त्यो घरमा बस्न नसकेर घर नजिकै टहरो बनाएर लामो समय बसेका रहेछन् । समय बित्दै गयो । भु्कम्पको त्रासदी विस्तारै विस्तारै विस्मृतिबाट हराउन थाल्यो । जनजीवन उस्तै हुन लाग्यो । मणिलाल त्यही घरमै सपरिवारसहित बस्न थाले ।
प्रबलीकरण नहुँदै मणिलालको घर

गोरखा भूकम्पले सामान्य चर्काएका आंशिक क्षति भएका घरहरुलाई प्रबलीकरण गर्नुपर्ने सूचीमा राखियो । धेरै नै चर्केका र प्रबलीकरण गर्न असम्भव हुने घरहरुलाई भत्काएर पुनर्निर्माण गर्नुपर्ने सूचीमा राखियो । प्रबलीकरण गर्नुपर्ने घरधनीलाई सरकारले १ लाख सहयोग गर्ने र पुनर्निर्माण गर्नेहरुलाई ३ लाख अनुदान दिने प्रावधान त थियो नै । समय वित्दै जाँदा प्रबलीकरणको सूचीमा परेका घरधनीहरुले पुनर्निर्माणमा आफ्नो नाम राखिदिन आग्रह गर्न थाले । केही गाउँपालिका, वडाका प्रतिनिधीहरुले त्यसमा मलजल पनि गरे । र विस्तारै विस्तारै गाउँघरमा प्रबलिकरणका लाभग्राहीहरु मुुचुल्का उठाउँदै आफुुुलाई पुर्ण लाभग्राहीमा परिबर्तन गर्ने एउटा अभियान जस्तै हुन थाल्यो । १ लाख लिएर पुरानो घर जस्ताको तस्तै राख्न सकिने र भूकम्प प्रतिरोधी नै बनाउन सकिने पर्याप्त आधारहरु हुँदाहुँदै नबुझेर हो या अरुको उक्साहटमा लागेर हो या प्रबलीकरण प्रविधिबारे ज्ञान नभएर हो वा अन्य कारणले केही घरधनीहरु ३ लाख पाउने आशामा पूर्ण लाभग्राही बन्न लालायित देखिए । कति घर रेट्रोफिट अर्थात प्रबलीकरण गर्न सकिने थिए तर उनीहरु पूर्ण लाभग्राहीमा सूचीकृत भए, कुनै घर बस्नै योग्य थिएनन् तर उनीहरु आंशिक क्षतिको लाभग्राहीमा दर्ज भए । सर्वेक्षणका दौरान भएका छिटपुट त्रुटीहरु हुन् यी ।
मणिलाल श्रेष्ठ

मणिलालको घर पनि आंशिक क्षति भएको थियो तर उनी पूर्ण लाभग्राही भएका थिए । उनले ३ तला रहेको त्यो घर भत्काएर नयाँ पुनर्निर्माण गर्नुपर्ने थियो । तर उनका सबै आवश्यकतका पुर्ति गर्ने धेरै बर्षअघि बनाएको घर भत्काउन मन थिएन तर बस्न त डर थियो । जोखिमयुक्त घरमा उनको परिवार बसिरहेको थियो । सोही क्रममा एनसेट बलियो घरका प्राविधिक तथा सामाजिक परिचालकहरुसँग उनको भेट भयो ।  भुकम्पलाई चटक्कै भुलेका मणिलालले जब जोखिमयुक्त संरचनाको विषयमा सुने तब झसङ्ग भए उनको घर कति जोखिमपूर्ण रैछ भनेर । त्यस्तै प्रकृतिको घर आफ्नो पनि रहेको भन्दै तुरुन्तै घर हेर्न भन्दै बलियो घरको टोलीलाई लिएर गए । लागत खर्च कति लाग्ने सबै हिसाबकिताब गरेर देखाइसकेपछि उनले प्रण गरे, म प्रबलीकरण नै गर्छु ।
पूर्ण लाभग्राहीमा सूचीकृत मणिलाल प्रकृया पुरा गर्दै प्रबलीकरणको लाभग्राहीको रुपमा दर्ज भए । त्यसको केहि दिनमै नक्सा तयार भयो । एनसेट बलियो घर कार्यक्रम अन्तर्गत डकर्मीहरुका लागि गारोवाला घरमा प्रबलीकरण सम्बन्धी २५ दिने तालिम कार्यक्रम मार्फत आफ्नो घर प्रबलीकृत भएपछि मणिलाल दंग भएका छन् । घर प्रबलिकरण गर्दै गर्दा उनले सुरुमा गाउँलेहरुको अनेक बाणी नसुुनेका पनि होइनन् । तीन लाखले त नपुग्ने बेलामा एक लाख लगेर के लछार पटार लगाउने होला भनेर सबैले भनिरहँदा मणिलालले कसैको कुरा नसुनेर प्रबलीकरण प्रविधिप्रति आश्वस्त हुँदै घर प्रबलीकरण गरेर भुकम्प प्रतिरोधी बनाउने निधो गरेका थिए । अहिले छिमेकीहरुले आफ्नो घर हेर्दै मणिलालले सहि गरेछ है भन्दा उनी फुरुंग छन् । उनको प्रबलीकृत घर हेर्न मानिसहरुको घुइँचो लाग्छ । ककनी गाउँपालिकाका सबै पदाधिकारी तथा वडा सदस्यहरु उनको घर हेर्न पुगिसकेका छन् ।
मणिलालको घर प्रबलीकरण हुँदै


पहिले उनलाई भुकम्पले अलि अलि चिरा परेको घर यसरी बलियो बनाउन सकिएला भन्ने प्रबिधिबारे जानकारी पनि थिएन । आफु जन्मे हुर्केको, राखनधरण सबै पुग्ने गरी बनाइएको, बाउबाजेको पुख्र्यौली घर उनलाई भत्काउन पटक्कै मन पनि थिएन । यतिका समयसम्म नभत्काएर राखेको र के गर्ने कसो गर्ने भनेर अन्यौलमा भईरहेको बेलामा एनसेट बलियो घरको प्राबिधिक सहयोगले उनको घर प्रबलीकरण हुने भएपछि उनले सुखको सास फेर्न थालेका थिए । आफ्नो पैसा पनि जोगियो, पुख्र्यौली घर पनि जोगियो र आउने सन्ततिले पनि आफ्नो पुख्र्यौली मौलिकता बोकेको घर देख्न पाउने कुरामा अहिले उनी निश्चिन्त छन् ।

खैर, प्रबलीकरण गर्नु बाध्यता होस् या अरु केही तर पूर्णलाभग्राहीबाट प्रबलीकरणको लाभग्राहीमा परिणत गरेर समाजमा एउटा उदाहरणीय काम गरेका छन् उनले । उनको जस्तो जोखिमयुक्त घर जहाँ मानिसहरु बसिरहेका छन्, ती घर अर्को भूकम्प आउँदा गल्र्यामगुर्लुम ढल्न सक्छन् । उनको समाजमा त्यस्ता घर थुप्रै छन् । अहिले मणिलाल प्रबलीकरणका दूत जस्ता भएका छन् । उनले अरुलाई पनि भन्छन्, “प्रबलीकरणका लाभग्राहीहरुले त ढिला नगरी प्रबलीकरण गरेर पुरानो संरचना जोगाउनुपर्छ, परिवारको रक्षा गर्नुपर्छ । पूर्ण लाभग्राही भएर ३ लाख अनुदान लिएर नयाँ घर बनाएका तर पुरानो घर उस्तै राखेर त्यसमै बसिरहेका भूकम्प पीडितहरुले पनि यथासिघ्र प्रबलीकरण गर्नुपर्छ । यसले अर्को भूकम्प आउँदा स्वयं र परिवारको रक्षा त गर्छ नै, साथै छिमेकका अरु मानिस र सम्पत्तिमा हुने क्षति पनि रोकिन्छ । ढुंगा माटोको घरमा सजिलै प्रबलीकरण गर्न सकिने रैछ, किन ढिला गर्ने ?”


प्रबलीकृत घरको अगाडी मणिलाल

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...