Tuesday, August 27, 2019

"घर प्रबलीकरण गरेपछि आनन्दको निन्द्रा आएको छ"

रञ्जु ढुङ्गाना
सामाजिक बिकास अधिकृत
बलियो घर कार्यक्रम, धादिङ
धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ कुम्पुर, छपेली स्थित ८४ वर्षीय अतिमाया गिरी खेती किसानी गरेर जिविकोपार्जन गरिरहनु भएको थियो ।  जीवन चलेकै थियो । २०७२ सालमा भूकम्प गएपछि उहाँको जीवनमा तनाव सिर्जना भयाे । भुकम्पले उहाँको घरमा आंशिक क्षती गर्यो । उहाँका अनुसार २०६८ सालमा ढुङ्गामाटोको जोडाईमा ढलान गरी बनाएको ४ कोठे घर बनाउँदा १७ लाख खर्च भएको थियो । तर २०७२ साल बैशाख १२ गते गएको १ मिनेटको भूकम्पले त्यो घरको थुप्रै ठाउँमा चिरा पर्यो । बस्नै नहुने जस्तो भयाे ।
भूकम्प गएको केही समयपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितहरुलाई पूनर्निर्माणको लागि सहायता प्रदान गर्न क्षति विवरण संकलन गर्न थाल्यो । पहिलो चरणको क्षति विवरणका आधारमा लाभग्राहीको रुपमा नाम नआए पछि दोश्रो पटक गुनासो दर्ता गराएकी अतिमाया गिरीको घर प्रबलीकरण गर्नुपर्ने भनी सूचीकृत भएर आयो । सो घर साँच्चिकै प्रबलीकरणको लागि उपयुक्त थियो तर पनि अतिमाया गिरी र उहाँको परिवार घरलाई प्रबलीकरण गरेर बलियो बनाउने भन्दा पनि त्यो घर यथावत नै राखी ३ लाख अनुदान लिएर नयाँ घर बनाउने सोँचमा थियो । र सोही अनुसार आफुलाई पूर्ण क्षतिको लाभग्राहीको रुपमा सूचीकृत गर्नका लागि वडा कार्यालयमा निवेदन दिने कुरा थियो ।

यसै क्रममा एनसेट बलियो घर कार्यक्रमले त्यस वडाका वडा अध्यक्ष लक्ष्मण खतिवडा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत कार्यरत इन्जिनियर जानु तण्डुकारलाई सो घर प्रबलीकरण गर्न उपयुक्त रहेको र प्रबलीकरणको लागि डकर्मी तथा प्राविधिक सहायता बलियो घर कार्यक्रमले दिने भनी सहयोगको लागि आग्रह गरियो । वडा अध्यक्ष लक्ष्मण खतिवडाले अनुमति प्रदान गर्नुभयो, त्यसपछि हामीले अतिमाया गिरीलाई घर प्रबलीकरण गर्नको लागि आग्रह गर्दा आक्रोशित हुँदै अतिमाया गिरी तथा उहाँको छोरा बुहारीले “घर भत्किए पनि भत्कियोस यो घरमा केही गर्दैनौ, पाए ३ लाख लिएर नयाँ बनाउने हो, नपाए चल्दै गर्छ अर्को भूकम्प आएछ भने घरले किचेर मरौँला” सम्म भन्नुभयो । हामीले फेरि भुकम्प आउँदा घरले किचेर मर्न पर्ने अवस्था आउँदैन नयाँ जस्तै गरी बलियो बनाउने प्रविधि प्रबलीकरण बारे जानकारी दियौँ । तीन लाख आएपनि तपाईले यस्तो ठुलो घर भत्काएर एउटा वा दुइटा कोठा बनाउने हो त्यो कोठाले हजुरहरुको आवश्यकता पनि पुरा हुँदैन भनेपछि अलिकता लचकता देखाएको उहाँको परिवारलाई हामीले प्रबलीकरण के हो र किन गरिन्छ भन्ने कुरा बुझायौँ । त्यसपछि उहाँले बढीमा एक लाख सम्म थपेर प्रबलीकरण गर्ने तर बलियो हुने कुराको सुननिश्चितता एनसेटले लिनुपर्ने शर्त अघि सार्नुभयो । हामीले पनि हुन्छ भनी सहमति जनाएपछि प्रबलीकरणको काम सुरु भयो । घरको प्लाष्टर उप्काउन थालेपछि गारो भत्कने पो हो की भन्ने डर अतिमायालाई लाग्न थाल्यो । अतिमायाले बारम्बार नभत्केको ठाउँमा पनि भत्काउनु भयो मेरो एउटा कोठा मात्र भत्केको थियो अब सबै भत्कने भयो भन्न थाल्नुभयो ।
प्रबलीकरण हुँदै गरेको अतिमायाको घर

कार्यको सुरुवाती चरणमा घर प्रबलीकरण गर्दा कतै घर भत्किन्छ कि भन्ने त्रास देखिएर प्लाष्टर बिस्तारै फुटाउनु, एउटा कोठा मात्र भत्किएको हो त्यो मात्र फुटाउनु भन्दै गनगन गर्ने ८४ वर्षीय अतिमायाको अनुहारमा बदलाव आउन केही दिन कुर्नुपर्यो । जब घरको गारोमा स्प्लिन्ट ब्याण्डेज र ज्याकेटिङ गर्न थालियो तब उहाँ मौन बस्न थाल्नुभयो । घर बलियो हुँदै गएको छ भन्ने भान परेको उहाँको अनुहारबाट प्रष्टै हुन्थ्यो । जब ६ जना डकर्मी, बलियो घरका प्राविधिक तथा सामाजिक विकास अधिकृतहरूको सहायतामा घर प्रबलीकरणको काम सकियो त्यसपछि आमालाई घर कस्तो भयो भनेर सोध्दा आमा भाबुक हुँदै भन्नुभयो, “२०७२ को भूकम्प पछि १ महिना सम्म बारीको पाटामा रात बितायौँ, कहिले हावाहुरी कहिले पानी, चिसो भुँइमा त्रिपाल हालेर कतिञ्जेल बस्ने हावा हुरी र पानीबाट मर्नुभन्दा त घरले किचेर नै मर्ने भनेर घरमा सरियो । तर पनि बिगतको ४ वर्षमा राम्रो गरी निन्द्रा परेको थिएन, अलिकति मेघ गुर्जिदा पनि भूकम्प आएको जस्तो लाग्थ्यो, यो घरले नै किचेर मरिन्छ कि जस्तो लाग्थ्यो, तर जब यस घरको काम सकियो तब मलाई अब त जत्रो भूकम्प आएपनि किचेर चाँहि मरिदैन भन्ने लाग्न थाल्यो । प्लाष्टर गरेको ठाउँमा पानी हाल्न थाल्दा पनि कहिले सकिएला र घरमा सर्न पाइएला जस्तो लाग्थ्यो । जुन दिन घरमा सरेँ त्यसदिनबाट आनन्दको निन्द्रा आएको छ, ४ बर्षपछि बल्ल ढुक्कसँग निदाउन पाएकी छु । सायद छोरा बुहारी पनि राम्रै निदाएका होलान् ...”
प्रबलीकरण सम्पन्न भएपश्चात अतिमायाको घर

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...