Wednesday, July 11, 2018

बाबरेको पुनर्निर्माणमा महिलाहरूको सक्रियता, ९५ बर्षीय वृद्ध दंग


दिपेन्द्र कार्की
सामाजिक विकास अधिकृत
बलियो घर, बाबरे

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब ५० किमि टाढा उत्तरी क्षेत्रमा अवस्थित कालिञ्चोक गाउँपालिकाको वडा नम्बर २, पूर्व बाबरे गाविसको डम्फा टोलका महिलाहरु पुरुषहरु जस्तै पुनर्निर्माणमा लागिरहेका छन् । उनीहरु पुरूष डकर्मी सघाउने ज्यामिको रुपमा नभएर पूर्ण डकर्मी भएर पुर्निर्माणमा लागिरहेका हुन् । घर निर्माणको कार्य पुरुषले मात्र नभएर महिलाले पनि सक्छन् भन्ने गतिलो उदाहरण पेश गरेका छन् यहाँका महिलाहरु ।
डम्फा टोलका महिलाहरु डकर्मी बन्नको लागि अभिप्ररित भने पुरुषबाट नै भएको बताउँछन् । केही महिला डकर्मीमध्ये एक हुन् रम माया थामी । थामीको श्रीमान् मधुकर थामी तालिम प्राप्त डकर्मि हुन् । उनले भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालले सञ्चालन गरेको बलियो घर कार्यक्रमबाट ७ दिने डकर्मी तालिम लिएपछि आर्जन गरेको ज्ञान र सिप आफ्नो श्रीमतिलाई समेत सिकाएर अहिले श्रीमान् श्रीमति दुबै डकर्मी पेशामा लागेका छन् । रममाया जस्तै वविता थामी पनि अहिले गाउँमा धमाधम घर बनाएर हिडिरहेकी छिन् । उनि कक्षा ११ मा अध्ययनरत छात्रा हुन् । उनी पनि आफ्नै समुदायको तालिम प्राप्त डकर्मिकरुबाट नै यो सीप सिकेको बताउँछिन् । वविताको बुबा समेत गाउँका पुरानो तालिम प्राप्त डकर्मी हुन् । अहिले यस टोलमा ४/५ जना महिला डकर्मीहरुको संलग्नतामै ५ वटा घर समेत निर्माण भइसकेको छ ।


महिला डकर्मिहरु खुसी हुँदै बताउँछन्, "ग¥यो भने असम्भव भन्ने केही रहेनछ । पहिला पुरुष मात्र डकर्मी पेशामा लाग्ने गरेकोमा महिलाले त यो काम गर्नै हुन्न मानसिकता पनि थियो । हामीलाई पनि सकिन्न होला झै लाग्थ्यो ।" स्थानीय तथा डकर्मी शंखर थामी महिला डकर्मीहरुको कामबाट प्रशन्न छन् । उनी भन्छन्, "हामीले सिकेको सीप आफुमा मात्र सिमित गर्न हुन्न रहेछ । यो सीप महिलाहरुलाई समेत सिकाउनु पर्न रहेछ, महिलालाई ढुङ्गा माटो मात्र ओसार्न लगाउन नहुने रहेछ भन्ने कुरा तालिममा सिकेकाले गर्दा आज त्यो सिप हामिले महिलालाई समेत सिकाएर उनीहरु प्नि हामी सँगै गारो हालेर हिड्न सक्ने भएका छन् ।"
महिला डकर्मीहरुले बनाइदिएको एउटा घरमा बस्छिन्, ९५ बर्षीय कृष्ण माया थामी । महिलाहरुले आफ्नो घर निर्माणको क्रममा देखाएको कुशलता र जाँगर हेरेर उनी दंग परेकी थिइन् । उनी भन्छिन्, "महिलाले पनि गरे भने सक्ने रहेछन् आफु त डाँढा पारीको घाम भइसकेँ, कहिले हो थाहा छैन तर यस घरमा बाँचुञ्जेल ढुक्क भएर बस्न पाउने भइयो ।"

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...