Thursday, August 30, 2018

शारीरिक अशक्तताले रोकेन झंक नारायणलाई नाइके डकर्मी हुन

निर्मला नेपाली
सामाजिक विकास तथा जनसम्पर्क अधिकृत
बलियो घर कार्यक्रम, धादिङ


उनको जोश र जाँगर, छरितोपना, एकै ठाउँमा धमाधम बनिरहेका धेरै घरहरुको बीच ५ जनाको समुहमा रहेको डकर्मीहरु र सबैभन्दा द्रुत गतिमा काम गरिरहेका उनी र अन्य डकर्मीलाई सिकाउदै गरेको दृष्य हेर्दा लाग्दैन कि उनी अपाङ्ग हुन् । उनी अर्थात सिद्धलेक गाउँपालिका वडा नं. ८ डाँडापारी टोल धादिङका तालिमप्राप्त डकर्मी झंक नारायण श्रेष्ठ । ४० को दशकमा हिँड्दै गरेका उनको खुट्टा काम गर्न सक्ने अवस्थामा छैन तर खुट्टाको कमजोरी उनी अाफ्नो काममा देखिन दिँदैनन् । डकर्मीहरुको नाइके बनेर काम गरिरहेको उनको ताैरतरिका र शारीरिक तथा मानसिक जोश अन्य कुनै सशक्त डकर्मीको भन्दा कम छैन ।

अझ उनीसंगै काम गर्ने अन्य डकर्मीहरुले उनैसँग सल्लाह लिई काम गरिरहेको दृष्य निकै रोचक र आनन्ददायी देखिन्छ । झंक नारायण श्रेष्ठ र उनको समुहले एकैपटक नजिकै एउटै टोलमा ४ वटा घरहरु निर्माण गरिरहेका छन् । ढुङ्गा फुटाएर गारो जोड्दा उनी असिनपसिन देखिन्छन् तर घर भुकम्प प्रतिरोधी नै बनाउने र छिटो भन्दा छिटो अरुको पनि भुकम्प प्रतिरोधी घर बनाउने जिम्मेवारी रहेकोले निरन्तर काममा लाग्नु उनीसँग विकल्प छैन ।

झंक नारायण लगायतको टोलीलाई बलियो घर कार्यक्रमले ७ दिने डकर्मी तालिम दिएको थियो । तालिम अघि र तालिम पछिको व्यस्तताको बारेमा उनी भन्छन "तालिम लिनुभन्दा अगाडि कामको खोजिमा विभिन्न ठाउँहरु जस्तै धादिङबेशी, मलेखु, गजुरी, र डुम्रे जस्ता ठाउँमा जानुपर्थ्यो र भूकम्प प्रतिरोधी घर बनाउने तिर ध्यान भन्दा पनि कति छिटो निर्माण सम्पन्न गर्ने भन्ने तिर ध्यान हुन्थ्यो तर बलियो घर कार्यक्रमद्धारा सञ्चालित डकर्मी तालिम लिईसकेपछि कसरी भुकम्प प्रतिरोधी बनाउने भन्ने मै जोड दिन्छु अनि अहिले आफ्नो टोल तथा वरिपरिका ठाउँमै घर बनाउन भ्याईनभ्याई छ।"
 
भूकम्प लगत्तै तालिम लिनु अगाडी हिटि गाउँमा बनाएको घरमा नस नराखिएको र ढुङ्गा माटोको घरमा मापदण्ड अनुसार उपयुक्त स्थानमा झ्यालढोका नराख्नाले अनुदान नै नपाई समस्या भएको उनले जानकारी दिए । तर तालिम पछि लगभग ३०/३५ वटा घरहरु निर्माण गरेको र ती सबै घरहरु भूकम्प प्रतिरोधी बनाएको उनले बताए । अर्को महत्वपुर्ण कुरा ७ जनाको डकर्मी समुहमा रही अर्मपर्म गरेर एक अर्काको घर बनाउँदै गरेकोले समयमा नै घर निर्माण सम्पन्न गर्न सहज भएको  र मापदण्ड अनुसारकै घर बनाउन सकिएको झंक नारायणसँगै काम गरिरहेका अर्का डकर्मी सानुबाबु श्रेष्ठ बताउँछन् ।

शारीरिक रुपमा अशक्त भएतापनि उनीसँग भएको सीप हस्तान्तरण गर्नुपर्छ र अरुलाई पनि सिकाउनुपर्छ भन्ने बुझेका झंकले आफ्ना सहकर्मीहरुलाई नेतृत्व प्रदान गरिरहेका छन् र अरुलाई पनि सिकाइरहेका छन् । आफुसँग सीप र त्यो सीपलाई सदुपयोग गर्न सकियो भने अपांगता बाधक बन्दैन भन्ने कुरा झंक नारायण श्रेष्ठको जीवनबाट थाहा हुन्छ । अपांगता भएतापनि दृढ इच्छाशक्ति, आत्मविश्वास र कुनैपनि कामप्रति लगाव भएमा जुनसुकै काममा सहभागी भई सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुराको गतिलो उदाहरण बनेका छन् सिद्धलेक गाँउपालिका वडा नं. ८, डाँडापारी टोलका झंक नारायण ।

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...