Thursday, August 30, 2018

तालिम प्राप्त डकर्मीको अडानले बन्यो बलियो घर

सन्तोष श्रेष्ठ, हृदयमान वि.क.
नीलकण्ठ न.पा., धादिङ

“यदि मैले यो घरमा अगाडी पट्टी झ्याल र ढोका दुबै राख्न पाइन भने मेरो घर त फर्सीमा प्वाल पारेजस्तै हुन्छ, । तपाईहरुको सुझाव पनि कस्तो ? मैले मेरो घर आफ्नो इच्छा अनुसार बनाउन नपाउने रे ? यस्तो पनि सल्लाह हुन्छ ? तपाईहरु जेसुकै भन्नुहोस, म मेरो घर आफ्नै तरिकाले बनाउछु” नीलकण्ठ नगरपालिका वडा नं. १२ आँपस्वाराका जगत बहादुर तामाङको बनिरहेको घरमा प्राविधिक परामर्श दिन हामी पुग्दा ती घरधनीले दिएको अभिव्यक्ति हो यो ।

वि.सं. २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी गोरखा भुकम्पको करिब दुईवर्ष पछि नीलकण्ठ नगरपालिका वडा नं. १२, आँपस्वारका जगत बहादुर तामाङले घर निर्माण गर्ने योजना बनाए । उक्त योजनाअनुसार उनले घरको नक्सा पनि बनाएर ल्याए । गाँऊघरमा चर्चा भएअनुसार तालिम प्राप्त डकर्मी लगाएर घर निर्माण गर्ने विचार गरे । तालिम प्राप्त डकर्मी खोज्दै गर्दा उनले बलियो घर कार्यक्रम मार्फत तालिम लिएका ३ जना डकर्मीहरुको एउटा समुहलाई भेटेर उनीहरुलाई आफ्नो घर भुकम्पले नभत्कने र पास हुने तरिकाले बनाईदिन अनुरोध गरे । डकर्मीहरु पनि उनको घर बनाइदिन राजी भए । घडेरी तयार गरेर जग खन्ने समयमा डकर्मीहरुले घरधनीलाई घर निर्माण शुरु गर्नुभन्दा पहिले एकपटक बलियो घर कार्यक्रमका प्राविधिकलाई बोलाएर परामर्श लिदा राम्रो हुने सल्लाह दिए ।

घरधनीले बोलाउन पर्छ भने बोलाओ न त भने तर खासै वास्ता गरेनछन् । अनि डकर्मीहरुले आफैले फोन गरेर हामीलाई त्यस घरमा बोलाए । हामी त्यहाँ पुगेर घरको जग, आकार प्रकार र नाप, ठाडो बन्धन्, तेर्सो बन्धनहरु, गारो लगाउने तरिका आदीको बारेमा जानकारी दिएर सोहि अनुसार घर निर्माण प्रक्रियालई अगाडी बढाउन सल्लाह दिएर फक्र्यौँ । हाम्रो सल्लाह अनुसार नै जग तयार भयो, ठाडो डण्डी पनि राखियो अनि ढोका मुनिको बन्धन हुदै झ्याल मुनिको बन्धन सम्म तयार भयो । जब झ्याल राख्ने बेला भयो तब घरधनी र डकर्मीबीच द्वन्द्व हुन थाल्यो । घरधनीले नक्सामा झ्याल र ढोका सबै अगाडी तर्फ भएकोले झ्याल र ढोका दुबै अगाडी तर्फ एउटै गारोमा राख्नको लागि दबाब दिन थाले भने डकर्मीहरुले ढुंगामाटोको गारोवाला घरमा गारोको ३० प्रतिशत भन्दा बढि खुल्ला भाग राख्न नमिल्ने भएकोले झ्याल ढोका दुबै अगाडीतर्फ एउटै गारोमा राख्न नहुने तर्क गर्न थाले । दुुबै पक्ष आआफ्नै अडानमा रहेपछि डकर्मीहरुले प्राविधिकहरुलाई बोलाएर प्राविधिकको सल्लाह बमोजिम मात्र झ्याल ढोका राख्ने शर्त राखे । अनि घरधनी र डकर्मीको समझदारीमा हामीलाई त्यस घरमा बोलाए । हामी त्याँहा पुगेर उनीहरु दुबै पक्षको कुरा सुन्यौँ । द्वन्द्व बढ्नको कारण पत्तो पाइसकेपछि हामीले पनि ढुंगामाटोको गारोवाला घरमा ३० प्रतिशतभन्दा धेरै खुल्ला ठाँउ राख्नु उपयुक्त नहुने भएकोले झ्याल ढोका दुबै एउटै गारोमा नराख्न सल्लाह दियौँ ।

हामीले डकर्मीको तर्कअनुसारकै सल्लाह दिँदा ति घरधनीले सबैभन्दा पहिला  हामीलाई एकान्तमा बोलाएर मलाई मेरो घरमा झ्याल ढोका अगाडी एउटै गारोमा राख्न दिनुहोस म तपाईहरुलाई यसो चियाखाजा खर्च दिन्छु भनेर आर्थिक प्रलोभन समेत देखाए । हामीले हाम्रो परामर्शमा कुनैपनि प्रकारको लेनदेन कल्पनासमेत गर्न नसकिने र तपाईले सामान्य कुरालाई वेवास्ता गर्दा तपाईकै घर कमजोर हुने भएकोले हाम्रो सल्लाह बमोजिम झ्यालढोका राखेर घर निर्माण कार्य अगाडी बढाउन आग्रह ग¥यौँ । तर ति घरधनी हाम्रो आग्रहलाई स्वीकार्नुको साटो हामीसंग वादविवादमा उत्रिए । उनले जंगिदै भने “यदि मैले यो घरमा अगाडी पट्टी झ्याल र ढोका दुबै राख्न पाइन भने मेरो घर त फर्सीमा प्वाल पारेजस्तै हुन्छ, । तपाईहरुको सुझाव पनि कस्तो ? मैले मेरो घर आफ्नो इच्छा अनुसार बनाउन नपाउने रे ? यस्तो पनि सल्लाह हुन्छ ? तपाईहरु जेसुकै भन्नुहोस, म मेरो घर आफ्नै तरिकाले बनाउछु ।” उनले घरधनीले आफ्नो इच्छाअनुसारको घर बनाउन पाउनुपर्ने र प्राविधिकका नानाभाँती सल्लाहलाई स्वीकार गर्न नसकिने विचार व्यक्त गरे । साथै उनले प्राविधिकका सबै सल्लाहलाई हुबहु पालना गर्दै गए आफ्नो घरको सुन्दरता नै कायम नरहने र कुरुप देखिने ठोकुवा गरे । उनले आगो हुँदै मलाई तपाँईहरुको सल्लाह आवश्यक छैन तपाईहरु जान सक्नुहुन्छ सम्म भने । यो भन्दा धेरै कुरा गरेमा ती घरधनीसँग बादविवाद धेरै बढ्ने सम्भावना भयो । अनि हामीले उनलाई अन्तिम पटक आग्रह ग¥यौ, ठिकै छ हामीले दिएको सल्लाह अनुसार घर बनाउनुभयो भने तपाईकै घर बलियो हुन्छ साथै तपाईको परिवार पनि सुरक्षित रहन्छ । यदि तपाईलाई हाम्रो सल्लाह अनावश्यक लाग्छ भने तपाई आफ्नै तरिकाले बनाउन सक्नुहुन्छ तर कुनै दिन तपाई पछुताउनुपर्ने अवस्था आउन सक्छ । यति भनेर हामी त्याँहाबाट फर्कियौँ ।

त्यसपछि घरधनी र डकर्मीहरुबीचमा पनि यस विषयमा धेरै छलफल चल्यो डकर्मीहरुले अझैपनि प्राविधिकको सल्लाह अनुुसार नै अगाडी बढ्नुपर्ने अडान कायमै राखे । यसै क्रममा ती घरधनीकी श्रीमतीले समेत प्राविधिक र डकर्मीहरुले यती कुरा सिकाउदा सिकाउदै किन अटेर हुने, प्राविधिकले हाम्रै राम्रो को लागि त भन्नुभएको होला भनेर सोहि सल्लाहअनुसार बनाउदा नै राम्रो होला भन्ने विचार राखिन् । अनि प्राविधिक, डकर्मी र आफ्नै श्रीमतीको समेत एउटै स्वर हुनथालेपछि  ती घरधनी जवरजस्त आंशिक रुपमा भएपनि सहमत भए । अनि झ्याललाई घरको पछाडीपट्टीको गारोमा र दाँया बाँया राखेर घर निर्माण कार्य अगाडी बढ्यो । त्यसको केहि दिनपछि हामी पुनः त्यस घरमा पुग्यौँ । झ्यालहरु पछाडीपट्टीको गारोमा राखेको देख्यौँ । अनि घरधनीलाई लौ राम्रो गर्नु भएछ, यति भएपछि तपाईको घर बलियो र भुकम्प प्रतिरोधी भयो अनि तपाईको परिवारसमेत सुरक्षित हुने भयो भनेर धन्यवाद र बधाई समेत दियौँ । तर उनी अझैपनि पुर्णरुपमा सन्तुष्ट भने देखिदैनथे । मेरो घर कुरुप चाँही भएकै हो भनेर गुनासो गरिरहका थिए । दिन वित्दै जाँदा उनले कुरा बुझ्दै गए र अहिले खुशी छन् ।

जे होस अमेरिकी सहायता नियोग (USAID) को सहयोगमा भुकम्प प्रविधि राष्ट्रिय समाज - नेपाल (NSET) द्धारा संचालित बलियो घर कार्यक्रम मार्फत तालिम लिएका डकर्मीहरुको बलियो घर निर्माणप्रतिको लगाव, प्रतिवद्धता, स्पष्ट अडान र तालिमलाई जसरीपनि व्यवहारमा लागु गर्नुपर्ने बुझाईका कारण अनि घुम्ती टोलीको परामर्शमा केहि घरधनीको असन्तुष्टीका बाबजुद पनि बलिया र भुकम्प प्रतिरोधी घरहरु निर्माण भईरहेका छन् ।

No comments:

Post a Comment

कोविड १९ (कोरोना) को समयमा पनि रोकिएन दोलखाको पुनर्निर्माण

सानुमैयाँ श्रेष्ठ सामाजिक विकास अधिकृत, बलियो घर कार्यक्रम विश्व कोविड १९ को महामारीबाट गुज्रिरहेको बेला नेपालमा पनि त्यसको ठूलै असर परिरहेक...